Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीको सम्झनामा दीपप्रज्वलन


130
Shares

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा पर्ने ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ), किली पेम्बा शेर्पासहित १० जना पर्वतारोहीको सम्झनामा मंगलबार साँझ काठमाडौंमा दीपप्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

नेपाल पर्वतारोहण संघ (एनएमए)को अग्रसरतामा आयोजित कार्यक्रममा बौद्ध भिक्षु, संघका पदाधिकारी, वरिष्ठ हिमाल आरोही, मृतकका आफन्त तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।

श्रद्धाञ्जली सभामा सहभागीहरूले दिवंगत आरोहीहरूको तस्बिर अंकित ब्यानरअगाडि मैनबत्ती बालेर मौनधारण गरेका थिए। उनीहरूको चिरशान्तिको कामना गर्दै धार्मिक विधिअनुसार प्रार्थना तथा पाठसमेत गरिएको थियो।

विश्वभर नेपालको नाम चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका निम्सदाइसहित अनुभवी पर्वतारोहीहरूलाई गुमाउनुपर्दा कार्यक्रममा सहभागीहरू भावविह्वल बनेका थिए। कतिपय सहभागी आँसु झार्दै दिवंगत आरोहीहरूको योगदान स्मरण गरिरहेका देखिन्थे।

ब्रोड पिकमा भएको दुर्घटनाले नेपाली पर्यटन तथा पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन्। उनीहरूले दिवंगत आरोहीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानलाई सधैँ स्मरण गरिरहने बताएका छन्।