Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


सुनकोशी नदीमा ३ जना मानिस बेपत्ता, खोजी कार्य आज पनि जारी

दोषीलाई कारवाही र उचित क्षतिपूर्तिकाे माग गर्दै पीडित परिवारले मध्य पहाडी लोकमार्ग गरे बन्द

871
Shares

बुद्ध नेपाली-संवाददाता

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरमा भएको दुर्घटनाका पीडित परिवारले मंगलबार बिहानैदेखि सडक बन्द गरेका छन् ।

दुर्घटनाका पिडित परिवारले टायर बालेर मध्य पहाडी लोकमार्ग बन्द गराएका हुन् । घटना घटेको २४ घण्टा बित्न लाग्दा समेत बस धनी र समितिले बेवास्ता गरेको, घटनाको सत्य,तथ्य छानविन गरी दोषीलाई कडा कारवाही हुनुपर्ने र उचित क्षतिपूर्ति पाउने पर्ने माग राख्दै पिडित परिवारले सडक बन्द गरेका छन् । सडक छेउमा रोकेर राखिएको कारलाई तीव्रगतिमा रहेको बसले पछाडीबाट ठक्कर दिंदा कार र ३ जना मानिस साेमबारदेखि सुनकोशी नदीमा बेपत्ता भएका छन् ।

घटना भए लगतै खोजीकार्य अगाडि बढाईएको थियो । साेमबार साँझ अबेरसम्म खोजीकार्य गर्दा कार र मानिस दुवै नभेटिए पछि साेमबार राति खोजी कार्य स्थगित गरिएको थियो । मंगलबार बिहानैदेखि पुन: खोजीकार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ । कार सुनकोशी नदीमा खस्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का अन्दाजी ३९ वर्षीया दिल कुमार लामा र सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ का स्काभेटर चालक गणेश थापा र सिन्धुलीको तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीया सुजन बलमपाकी मगर सुनकोशी नदीमा बेपत्ता भएका छन् ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले सोही दिशाको खुर्कोटबाट खोटाङतर्फ सडकमा रोखि राखेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोट अन्तर्गत मध्य पहाडी लोकमार्गको पुनर्निर्माण कार्यमा संलग्न कालिमाता,गौरा,मिग्मा कन्ट्रक्सनको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको सिन्धुलीका डिएसपी विजय श्रेष्ठले बताउनुभएको छ ।

घटनापछि खोजी कार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट शसस्त्र प्रहरीको गोताखोर टोली सहित नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहभागितामा बेपत्ता भएका व्यक्तिहरूको खोजी गरिएको थियो । सुनकोशी नदीको बहाव तीव्र भएकाले बेपत्ता कार र मानिसहरुको खोजीमा समस्या भएको छ । वर्षायामको समय र सागुँरो ठाउँ भएकाले नदीको तीव्र बहावका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे हाे ।