Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


अवरूद्ध मुग्लिन-नारायणगढ सडकखण्ड दुवैतर्फी रूपमा सञ्चालन


130
Shares

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ ।

साेमबार बिहान सोही सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको बताउनुभयाे। तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो ।

साेही ठाउँको पहिरो पन्छाएसँगै साेमबार बिहान १० बजेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले स्वयंले पहिरो पन्छाइरहेको जनाएकाे हाे। अन्य ठाउँको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको छ । सडकखण्डमा सिमसिम पानी परिरहेको बताइएकाे छ।

साेही क्षेत्रमा जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारी चालक र यात्रुलाई कार्यालयले आग्रह गरेकाे हाे ।