Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पाकिस्तानमा आत्मघाती बम विस्फोटमा परी १४ जनाको मृत्यु, २२ घाइते


195
Shares

एजेन्सी। पाकिस्तानको स्वात उपत्यकास्थित एक प्रहरी चौकीबाहिर भएको आत्मघाती बम विस्फोटमा हुँदा १४ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी आइतबार राति २२ जना घाइते भएका हुन् । विस्फोट अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्त अन्तर्गत स्वात उपत्यकाको कबालसहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीडनजिक भएको थियो । स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानका अनुसार प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएका थिए ।

स्वातका डेपुटी इन्स्पेक्टर जनरल अफ पुलिस फिदा हुसेनका अनुसार आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । उक्त क्षेत्रमा बढ्दो हिंसाविरुद्ध सरकारले प्रभावकारी कारबाही गर्नुपर्ने मागसहित नजिकैको चोकमा सयौँ मानिस भेला भएका थिए । सभाको अन्तिम वक्ताले सम्बोधन गरिरहेका बेला विस्फोट भएपछि भागदौड मच्चिएको थियो ।

स्वातमा हिंसात्मक आक्रमणहरू पुनः बढ्न थालेपछि त्यसको विरोधमा प्रदर्शनकारीहरू भेला भएका थिए । सन् २००९ मा पाकिस्तानी सेनाले ठूलो सैन्य अभियान सञ्चालन गरी नियन्त्रणमा लिनुअघि यो उपत्यका पाकिस्तानी तालिबान अर्थात् तेहरिक–ए–तालिबान पाकिस्तानको मुख्य अखडा मानिन्थ्यो ।

घटनापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शेहबाज सरिफले बम विस्फोटको कडा भर्त्सना गर्दै धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

Skip This