Logo २७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026


ब्रोड पिक हिमपहिरोमा आरोहीको निधनप्रति सरकारद्वारा दुःख व्यक्त


247
Shares

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी आरोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा गएको हिमपहिरोमा परी प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली तथा विदेशी आरोहीको निधन भएकामा दुःख व्यक्त गरेको हो।

मन्त्रालयका अनुसार दुर्घटनामा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पालगायत नेपाली आरोही तथा उनीहरूसँगै ब्रोड पिक आरोहणमा सहभागी अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको छ।

नेपाली आरोही सम्मिलित टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय र नेपाली टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा कठिन परिस्थितिमा खोज तथा उद्धार कार्यमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक प्रयासको सरकारले प्रशंसा गरेको छ।

दुर्घटनामा निधन भएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परिसकेको तथा अन्य आरोहीको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक सहजीकरण भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

सरकारले दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।