Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


सर्वोच्चमा प्रश्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रवारदेखि सुनुवाई थाल्ने


0
Shares

काठमाडाैं ।

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीश विरुद्ध २८ वटा उजुरी परेका छन् । 

संसदीय सुनुवाई समितिको बिहीवार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार प्रश्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन् ।

चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उहाँले जानकारी दिनुभयो । तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,  ‘१३ जना व्यक्तिले उजुरी गर्नुभएको छ, त्यो मध्ये डाक्टर रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारुको विरुद्धमा ६ वटा, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरु परेको छ । त्यसमा ५ जनाले सबै जनालाई उजुरी दिनुभएको छ ।’

समितिको बैठकले उजुरीकर्तालाई शुक्रवार समितिमा बोलाएर उजुरीको पुष्टि तथा औचित्यबारे छलफल गर्ने र त्यसपछि प्रश्तावित न्यायाधीशहरूसँग सुनुवाई गर्ने कार्यतालिका पारित गरेको छ । पारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रवार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ ।

उजुरीकर्तासँगको छलफलपछि प्रश्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै, कात्तिक २१ गते शनिवार प्रश्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाई गर्ने र आवश्यक निर्णय गर्ने समितिको तयारी छ ।

संसदीय सुनुवाईका लागि तोकिएको ४५ दिनको समयसीमा नजिकिँदै गएको र दशैँ तथा तिहारको बिदाका कारण प्रक्रिया प्रभावित हुनसक्ने भएकाले तिहार अगाडी नै सुनुवाई सक्नेगरि समितिले कार्यतालिका तय गरेको हो ।

संसदीय सुनुवाई समितिको कार्यविधि, २०८३ को दफा १५ बमोजिम सचिवालयले प्रश्ताव गरेको कार्यतालिका समितिले परिमार्जनसहित पारित गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो । समितिको बैठक शुक्रवार विहान ९ः३० बजेलाई बोलाइएको छ ।


Skip This