काठमाडाैं ।
नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।
प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पर्वलक्षित सुरक्षा कार्ययोजना बनाएर देशभर कार्यान्वयन ल्याएको जानकारी दिनुभयो । उहाँकाअनुसार सम्भावित सुरक्षा चुनौतीको पहिचान र विश्लेषण गरी जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी तथा प्रहरी परिचालन बढाइएको छ । प्रहरीले सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा, बडीओर्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गर्ने उहाँले बताउनुभयो ।
विशेषगरी पटका तथा विस्फोटक पदार्थको अवैध आयात रोक्न सीमा नाका र भन्सार क्षेत्रको निगरानी कडा पारिएको उहाँले जानकारी दिनुभयो । देशभर विभिन्न स्थानमा चेकपोइन्ट स्थापना, आकस्मिक जाँच, गस्ती, पेट्रोलिङ तथा कमान्ड पोस्टमार्फत सुरक्षा व्यवस्थापन गरिएको तथा भीडभाड हुने स्थान, मेला तथा बजार क्षेत्रमा समेत प्रहरीको विशेष निगरानी बढाईएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘तिहारमा हुन सक्ने जुवातासका कुराहरु छन्, त्यसैगरी मादक पदार्थ सेवन गर्ने लागु पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, आगलागी हुन सक्ने, कृतिम अभाव गर्ने वा कालोबजारी वा मिसावट मिठाईहरुमा मिसावटका कुराहरु छन् । त्यसैगरी पटका जन्य विस्फोटक पदार्थहरु पड्काउने आतिस आतिसबाजी जुन छ, त्यसको कुराहरु हामीले विशेष चुनौतीहरु पहिचान गरेका छौ । सो आधारमा हामीले रणनीतिक रुपमा कार्ययोजना बनाएर लागु गरिसकेका छौँ । छठ पछिसम्म भोलिपल्टसम्म लागु हुन्छ । हामीले सिसीटिभी क्यामेराले त्यसैगरी बडी ओर्न क्यामेरा ड्रोन तालिम प्राप्त कुकुर समितको प्रयोग गरेर हामी यसलाई सुक्ष्म सुरक्षा निगरानी गर्छौ । पटकाहरु भित्राउन नदिनलाई खासगरी सिमा क्षेत्रहरुमा भन्सार जन्य जो एरियाहरुमा विशेष निगरानी गरेका छौ । त्यहाँ प्रविधिको पनि निगरानी हुन्छ, जनशक्तिको पनि निगरानी छ । कुल जनशक्ति हामीले ५० हजार भन्दा बढी प्रहरी जनशक्तिहरु परिचालन गरेका छौ ।’
प्रहरीले जुवातास, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ । देउसीभैलो कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
यात्रु तथा सवारी सुरक्षामा विशेष निगरानी
चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले चालकको लापरबाहीलाई मुख्य जोखिमका रूपमा लिँदै विशेष जाँच अभियान सञ्चालन गरेको छ । देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । लामो दूरीका यात्रुवाहक सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागूऔषध सेवनको अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको उहाँको भनाई छ । सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण तथा लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा स्वदेश फर्किने नेपाली नागरिक ठगी, लुटपाट तथा अन्य दुव्र्यवहारमा नपरून् भन्ने उद्देश्यले १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
उहाँले भन्नुभयो, ‘दुर्घटना न्युनिकरणमा हामीले विशेष फलकदमीहरु दशैमा जसरी ग¥यौ, तिहारमा पनि त्यसलाई निरन्तरता दिएका छौँ । खासगरी चालकको लापरवाहीको कारणले दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति पत्र भएनभएको, मादक पदार्थ सेवन गरेको नगरेको लागुपदार्थ सेवनको अवस्था बस छुट्ने स्थानमा नै चेक गर्ने व्यवस्थाहरु मिलाएका छौ । लामो दुरीमा चल्ने सवारीमा दुई दुई सवारी चालक रहने व्यवस्था लाई निरन्तर रुपमा निगरानी गरेर त्यसलाई कडाईका साथ लागु गर्ने कामहरु गरेका छौ । देशभर १०८ स्थानमा जो सिमावर्ती एरियामा १०८ स्थानमा हामीले नागरिक सहायता कक्ष स्थापना गरेका छौ । जो तिहारमा नेपाली दाजुभाइ दिदीबहिनीहरु स्वदेश आउने क्रममा ठगिने, लुटिने खालको नहोस् भने कक्ष राखिएको हो ।’
कालोबजारी र खाद्य मिसावटविरुद्ध संयुक्त अनुगमन
चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने तथा म्याद गुज्रिएका र गुणस्तरहीन सामग्री बिक्री गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ । आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी संयुक्त बजार अनुगमन भइरहेको प्रहरी प्रवक्त काफ्लेले जानकारी दिनुभयो । मिठाई, फूलमाला तथा पूजासामग्री बिक्री हुने स्थान र भण्डारण केन्द्रमा समेत निगरानी बढाइएको उहाँको भनाई छ । प्रहरीले पटका, भुइँचम्पा, झिरझिरे तथा अन्य विस्फोटक पदार्थको प्रयोग नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । यस्ता पदार्थले आगलागी, आँखामा चोट, श्रवणशक्तिमा क्षति तथा मानवीय दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्रवक्ता काफ्लेले पटका आयात तथा ओसारपसार रोक्न सीमा क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताउँदै यस्ता गतिविधिबारे सूचना भए प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणमा विशेष फोकस गरेका छौ । वस्तु लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने, मिठाईहरु लगायतका खाद्य पदार्थहरुमा मिसावट गर्ने कुराहरुमा संयुक्त बजार अनुगमन गरिरहेका छौ । व्यापारिक केन्द्र तथा भण्डारण स्थलमा निगरानी बढाएको अवस्थाहरु छ । कसैले कानुन विपरीत क्रियाकलाप गर्छ भने कारबाही हुन्छ, शून्य सहनशीलतामा नेपाल प्रहरी संगठनले आफ्नो प्रहरी कर्मचारीहरुलाई परिचालन गरेर काम गरिरहेको अवस्थाहरु छ । स्थानीय तहबाट फूलमालाहरु बिक्री वितरण गर्ने केन्द्रहरु ठाउँहरु तोकिएको अवस्थामा मूल्य वृद्धिहरुका कुराहरुमा हामीले विशेष निगरानी गरेका छौँ ।’
प्रहरीले तिहारमा लामो समय घरबाहिर नजान पनि आग्रह गरेको छ । चोरी, डकैती तथा लुटपाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर प्रहरीले नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो । घर लामो समय खाली राख्नुपरेमा सामाजिक सञ्जालमा यात्रासम्बन्धी विवरण सार्वजनिक नगर्न प्रहरीले सुझाव दिएको छ । साथै बहुमूल्य गरगहना तथा नगद घरमा नराख्न र सम्भव भएसम्म सीसीटीभी तथा सुरक्षित ताल्चाको व्यवस्था गर्न प्रहरीले आग्रह गरेको छ ।
आगलागी रोकथाममा सतर्कता अपनाउन आग्रह
लक्ष्मीपूजाका क्रममा दियो, मैनबत्ती तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । बालबालिकालाई आगो तथा विस्फोटक पदार्थबाट टाढा राख्न, दियो र मैनबत्ती बालेर नछाड्न तथा विद्युत् उपकरण र तारको अवस्था जाँच गर्न पनि प्रहरीले अनुरोध गरेको हो ।
सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी), सिआरभी तथा विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रज्वलनशील पदार्थहरुको प्रयोगबाछ आगलागी हुन सक्ने, जस्तै दियो बालिन्छ, मैनबत्ती बालिन्छ, पर्दा, कपडा वा आगो सल्किने ठाउँहरुमा नबालौ, त्यतिकै नछोडौ, केटाकेटीलाई त्यस्ता चिजहरु नदिउ । त्यसै विशेष निगरानी गराँै, गुणस्तरहीन विद्युतका सामग्रीहरु पनि प्रयोग नगरौ ।’
प्रहरीले शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा चाडपर्व मनाउन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि, दुव्र्यवहार वा आपराधिक क्रियाकलाप देखिएमा तत्काल प्रहरीको १०० नम्बरमा जानकारी दिन आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्