Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


५ बुँदे मागसहित काठमाडाैंमा लघुवित्त पीडितको आज पनि सामूहिक अनसन जारी


130
Shares

काठमाडाैं । विभिन्न ५ बुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा शुरु गरेको सामूहिक आमरण अनसन शुक्रबारपनि जारी रहेकाे छ।

‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मंगलबाररदेखि उक्त अनसन शुरु भएको हो । आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभूति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका हुन् ।

संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ । आन्दोलनकारीहरूले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रश्तुत गरेका हुन् ।

आफ्ना मागहरू पूरा नभएसम्म अनसन र आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।