Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


पर्साको निषेधाज्ञा उल्लंघन गर्दै वीरगञ्जमा जुलुस, सिरहा घटनाको विरोधमा चर्को नाराबाजी


0
Shares

अनिल तिवारी, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार साँझ वीरगञ्जमा हिन्दूवादी समूहले जुलुस प्रदर्शन गरेका छन्।

प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि निषेधाज्ञा लागू गरे पनि प्रदर्शनकारीहरूले नगर परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन्। जुलुसका क्रममा सिरहामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोध गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिएको थियो।

यसअघि सम्भावित तनाव र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार आदेश जारी गर्दै वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा शुक्रबार बिहानसम्मका लागि निषेधाज्ञा लागू गरेका थिए।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको थियो।

आदेशअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको थियो।

निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमा पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, संयमता अपनाउन तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ। यद्यपि निषेधाज्ञा जारी रहेकै अवस्थामा प्रदर्शन भएपछि वीरगञ्जको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।