रत्नप्रसाद आचार्य, सुनसरी ।
सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कोशी प्रदेश प्रहरी नेतृत्वमा व्यापक हेरफेर गरे पनि जिल्लाको अवस्था झन् तनावग्रस्त बनेको छ।
नयाँ नेतृत्वले प्रभावकारी समन्वय र परिस्थितिअनुसारको रणनीति अपनाउन नसक्दा आन्दोलन थप उग्र बन्दै गएको स्थानीयको गुनासो छ। मंगलबार बिहानदेखि इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्मको महेन्द्र राजमार्ग अवरुद्ध छ। इनरुवा नगरपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका दर्जनौँ स्थानमा प्रदर्शन जारी छ। आन्दोलन नेतृत्वविहीन बन्दै गएकाले सुरक्षा निकायलाई नियन्त्रण गर्न थप चुनौती देखिएको छ।
स्थानीयका अनुसार भारतबाट नेपाल प्रवेश गरेका केही समूहले आन्दोलनको आडमा तोडफोड, लुटपाट तथा आगजनीका घटना गरिरहेको आरोप लगाइएको छ। स्थिति नियन्त्रणका लागि नेपाली सेना परिचालन गरिए पनि पूर्ण रूपमा अवस्था नियन्त्रणमा आउन सकेको छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न तथा शान्ति कायम राख्न आग्रह गरेका छन्।
यसअघि गृह मन्त्रालयले कप्तानगञ्ज घटनापछि बिदामा रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेलाई सरुवा गर्दै उनको स्थानमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाएको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय हलचोक सरुवा गरी उनको स्थानमा एसपी लवकुमार सापकोटालाई पठाएको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाएको छ।
साथै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा डीआईजी शेखर खनाललाई खटाइएको छ।









प्रतिक्रिया दिनुहोस्