Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सीमा क्षेत्रमा हुने अपराध निगरानी र राजस्व चुहावट नियन्त्रणमा गर्न सशस्त्रका महानिरीक्षक पौडेलकाे निर्देशन


13
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिनुभएकाे छ।

लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आइतबार अवलोकन पश्चात् उहाँले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिनुभएकाे हाे। कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयाे।

महानिरीक्षक पौडेलले असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमीकमजोरीको जिम्मा सङ्गठनले लिने समेत बताउनुभएकाे छ। सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढङ्गले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न समेत निर्देशन दिनुभयाे ।

महानिरीक्षक पौडेलले बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धारका सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएकाे छ।