Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सोनम वाङचुकले २६ दिनमा तोडे अनशन


156
Shares

एजेन्सी । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा २६ दिनदेखि अनशनरत रहेका अभियन्ता सोनम वाङचुक ले आफ्नो अनशन अन्त्य गरेका छन्।

केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उनी जुन २८ देखि आमरण अनशनमा बसेका थिए।

५९ वर्षीय वाङचुकले बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूले विभिन्न पक्षसँग भएका लामो छलफल, केही सहमति तथा देशमा सम्भावित हिंसालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको जानकारी दिएका हुन्। उनले अनशन तोड्नुका कारण र सहमतिका सर्तहरूबारे छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिने बताएका छन्।

उनको यो घोषणा प्रधानमन्त्री नरेन्द्र मोदी ले प्रश्नपत्र चुहावट रोक्न कडा कानुन ल्याइने प्रतिबद्धता जनाउँदै भिडियो सन्देश सार्वजनिक गरेलगत्तै आएको हो। सम्बोधनमा मोदीले प्रश्नपत्र चुहावटमा संलग्नहरूविरुद्ध फास्ट–ट्रयाक अदालतमार्फत कारबाही अघि बढाउने तयारी भइरहेको र यस विषयमा शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताएका छन्।

यद्यपि, प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नाम भने उल्लेख गरेका छैनन्। उनले प्रश्नपत्र चुहावटको घटनालाई लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर विषय भन्दै सरकारले दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए। त्यसपछि देशभर विद्यार्थी असन्तुष्टि चुलिएको थियो। सोही आन्दोलनलाई नेतृत्व गरिरहेको युवा नेतृत्वको ककरोच जनता पार्टी (सीजेपी) ले शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आन्दोलन जारी राखेको छ। वाङचुकले पनि उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अनशन सुरु गरेका थिए।

सन् २०२४ मा तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएपछि प्रधानमन्त्री मोदी सरकारविरुद्ध उभिएको यो आन्दोलनलाई हालसम्मकै सबैभन्दा ठूलो जनदबाबका रूपमा हेरिएको छ। आन्दोलनअन्तर्गत हजारौँ सीजेपी समर्थकहरूले नयाँ दिल्लीको जन्तर–मन्तरसहित भारतका विभिन्न सहरमा प्रदर्शन जारी राखेका छन्।

Skip This