Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा आगामी ४ वर्षभित्र अन्त्य गर्ने शिक्षामन्त्री पोखरेलकाे प्रतिबद्धता

शैक्षिक क्षेत्रकाे समग्र सुधारका लागि राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गर्ने उल्लेख

26
Shares

काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्णरूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडाैंमा बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औं वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी ४ वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताउनुभएको हो । विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले आगामी दिनमा राजनीतिक भागबन्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवाजस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभएकाे छ। विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाव आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गर्ने दावी गर्नुभएकाे छ।