लहान, असोज १३ । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सातजनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातैजनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत, मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा, विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी, झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६, हतमुन्डाका १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८, हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१, पूर्वारीटोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
गत भदौ २८ गते सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम संकलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका–२२, सागरपुर, मैनावती नदीनजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई कर्मचारीलाई हतियार देखाएर यी अभियुक्तहरुले उनीहरूसँग भएको रु तीन लाख ९३ हजारसहित मोटरसाइकल लुटेर लगेका थिए ।
उनीहरूको साथबाट ‘मेड इन युसए एन ७१०’ लेखिएको पेस्तोल एकथान, त्यसको म्यागजिन एकथान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल एकथान, म्यागजिन एकथान, पेस्तोलमा लाग्ने गोली १३ राउन्ड, सामसुङ मोबाइल एकथान, नेपाली रु ६ हजार १५०, विभिन्न कम्पनीका सिमकार्ड पाँचथान, चन्द्रशेखर यादवको भारतीय सवारीचालक अनुमतिपत्र, लुटिएको बीआर३२ए ९३७३ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । रासस
प्रतिक्रिया दिनुहोस्