Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता


52
Shares

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो ।

सोअवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तरराष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

भेटका अवसरमा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ तुल्याउने विषय छलफल भएको मन्त्रालयले जनाएको छ ।

उहाँहरुबीच दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।