Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अनलाइन उजुरी प्रणाली सञ्चालन: श्रममन्त्री यादव


195
Shares

काठमाडाैं । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक पोर्टलको औपचारिक शुरुवात गर्नुभएको हो । यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो । विभागमा सिमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितहरूले काठमाडौंमा बस्न र खानका लागि थप खर्च व्यहोर्नुपर्ने अवस्था थियो ।

अनलाइन प्रणालीको शुरुवातसँगै अब पीडितहरूले काठमाडौं धाउनुपर्ने र विभिन्न निकायमा भौंतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री यादवले बताउनुभएकाे छ। उहाँले अब पीडितले आफ्नै मोबाइल वा कम्प्युटरबाट पोर्टलमामा गई आवश्यक प्रमाणहरू संकलन गरेर उजुरी पेश गर्न सक्ने समेत बताउनुभयाे।

यस प्रक्रियाले गर्दा ठगीमा संलग्न व्यक्तिहरूले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) प्राप्त गर्न नसक्ने र उनीहरूलाई कानूनी दायराबाट उम्किन कठिन हुने मन्त्री यादवले स्पष्ट पार्नुभयो । न्यायको ढोकालाई नागरिकको हातसम्म पुर्‍याउने उद्देश्यले यो प्रविधिमैत्री सेवा शुरु गरिएको मन्त्रालयले जनाएको छ ।