Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


लुम्बिनी प्रदेशमा ८० प्रतिशत बढी क्षेत्रफलमा धान राेपाइँ सम्पन्न


13
Shares

फाइल तस्बिर

काठमाडाैं । लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा यति बेला धान रोपाइँ सम्पन्न भएको छ ।

असारको शुरुवातसम्मअधिकांश खेत पानीको प्रतीक्षामा बाँझै थिए । तर, मनसुन सक्रिय भई निरन्तर वर्षा भएपछि धमाधम रोपाइँ गरिएको हो । कृषि विकास निर्देशनालय बुटवलले साउन १ गतेसम्म लुम्बिनीमा ८० दशमलव ६४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको जनाएको छ ।

प्रदेशैभर धान रोपाइँ हुने तीन लाख एक हजार ३ सय ७२ हेक्टर क्षेत्रफल छ । निर्देशनालयले जसमध्ये दुई लाख ४३ हजार ९ सय ५१ हेक्टरमा रोपाइँ सकिएको जनाएकाे हाे । गत असार १५ गतेसम्म प्रदेशभर जम्मा २१ प्रतिशत मात्र धान रोपाइँ भएको अवस्था थियो ।

लुम्बिनीका विशेष गरी कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, दाङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का फराकिला फाँट धान उत्पादनका निम्ति प्रसिद्ध छन् । तराईसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्वका पहाडी जिल्लामा पनि धान खेती गरिँदै आएको हाे ।

प्रदेशमा सावित्री, सामा मन्सुली, हर्दिनाथ–६, राधा–४, सुक्खा धान–१ र २, गंगासागर–१ र २, खुमल बासमती लगायतका उन्नत जातकाे धान खेती गरिन्छ।