Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने चिनियाँ राष्ट्रपति जिनपिङको संकेत

जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकाे उल्लेख

65
Shares

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत गर्नुभएकाे छ।

सांघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको हाे । राष्ट्रपति सीले चीनको नेतृत्वमा स्थापना गरिएको विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोशेढुंगा भएको बताउनुभएको छ । यो संगठनमा रुस, ब्राजिल र इन्डोनेसियासहित ३० देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन् ।

चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको हाे । विश्लेषकहरूका अनुसार एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उच्च लगानी र बजारको अनिश्चितताले लगानीकर्तामा सावधानी बढाएको छ । राष्ट्रपति सीले एआईको सुरक्षित, जिम्मेवार र समावेशी विकासका लागि विश्वव्यापी मापदण्ड आवश्यक रहेको र चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने बताउनुभयाे ।

राष्ट्रपति सीले एआई मानव विकासका लागि अवसर बन्नुपर्छ, प्रतिस्पर्धा र जोखिमको स्रोत मात्र नभएकाे समेत बताउनुभएकाे छ । विशेषज्ञहरूले एआई क्षेत्रमा चीनको यो सक्रिय पहलले प्रविधि, व्यापार र भू–राजनीतिमा अमेरिका–चीन प्रतिस्पर्धालाई अझै तीव्र बनाउने सम्भावना रहेकाे जनाएका हुन् ।