Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहितका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो


78
Shares

काठमाडाैं । साउन महिनाको पहिलो सोमबार हिन्दु धर्म अनुसार भगवान् शिवको प्रिय महिनाका रुपमा लिईने भएकाले विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

बिहानैदेखि भगवान शिवका शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको हाे । देशका कतिपय स्थानमा बोलबम यात्रा गरी शिवको आराधना गर्ने प्रचलन चल्दै आएको छ । साउन महिनाको सोमबार विशेष गरि काठमाडौंको पशुपतिनाथमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । पशुपतिनाथ मन्दिरमा हुने अत्यधिक श्रद्धालु चापलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी गरिएको जनाएको हाे ।

कोषले दर्शनार्थीलाई सहज, सुरक्षित र मर्यादित रूपमा दर्शन गराउन सुरक्षाकर्मी, स्वयंसेवक तथा विभिन्न सरकारी निकायसँग समन्वय गरी विशेष व्यवस्थापन योजना लागू गर्नेछ । कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले साउन महिनाभरका सोमबारमा बिहान ३ बजेदेखि मन्दिरका चार वटै ढोका दर्शनार्थीका लागि खुला रहने बताउनुभयाे। श्रद्धालुको भीडलाई व्यवस्थित गर्न विभिन्न क्षेत्रबाट आउने भक्तजनका लागि फरक–फरक प्रवेश मार्ग निर्धारण गरिएको छ।

धर्मशास्त्रमा साउन महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहेकाे हाे ।