Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


स्पेन अर्जेन्टिनालाई पराजित गर्दै बन्याे फिफा विश्वकप फुटबल २०२६ को च्याम्पियन

लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको अर्जेन्टिना भने उपविजेतामै सीमित

520
Shares

काठमाडौं । स्पेनले १६ वर्षपछि अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को उपाधि जितेको छ ।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा साेमबार बिहान सम्पन्न भएकाे रोमाञ्चक फाइनल खेलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गाेलले पराजित गर्दै दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाएको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले जाली चुमाउन सकेन। त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

स्पेनका प्रशिक्षकले दोस्रो हाफमा मैदान प्रवेश गराएका फरवार्ड फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गरेको निर्णायक गोल नै खेलको एक मात्र गोल सावित भएकाे हाे। उनले बायाँ खुट्टाबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि स्पेन उपाधिनजिक पुगेको थियो। गोल खाएपछि अर्जेन्टिनाले बराबरी गोलका लागि निरन्तर दबाब सिर्जना गरे पनि स्पेनको अनुशासित रक्षापंक्ति र गोलरक्षक उनाइ सिमोनको उत्कृष्ट प्रदर्शनका कारण सफल हुन सकेन। स्पेनले अन्तिमसम्म आफ्नो अग्रता जोगाउँदै विश्वकप ट्रफी उचाल्न सफल भयो।

याेसँगै स्पेनले सन् २०१० पछि दोस्रोपटक विश्वकप उपाधि जितेको हो। यता, लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको अर्जेन्टिना भने उपविजेतामै सीमित भएकाे छ। स्पेनले प्रतियोगिताभरि देखाएको सन्तुलित, संयमित र प्रभावशाली प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिँदै विश्व फुटबलको नयाँ च्याम्पियनका रूपमा आफूलाई स्थापित गरेको हाे।