Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


वर्तमान राजनीतिमा राज्य निर्देशित अराजकता र नीतिहीनता बढ्योः एमाले अध्यक्ष ओली


117
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीति दिशाहीन, नीतिहीन र विधिहीन ढङ्गले अगाडि बढिरहेको टिप्पणी गर्नुभएको छ ।

आइतवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुलुकमा अराजकता र संवैधानिक मर्यादाको उल्लंघन भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले एमाले अहिले सडक र सदन गरी दुईवटा मोर्चामा संघर्षरत रहेको बताउनु भयो । सडक आन्दोलनमा केही धक्का लागेको स्वीकार गर्दै उहाँले सडक र संसदीय संघर्ष एक–अर्काका पूरक भएको उल्लेख गर्नुभयो । लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक र कानूनी बाटाहरू हुने भएपनि वर्तमान सरकारको प्रारम्भ नै षडयन्त्र र अराजकताबाट भएको ओलीको दाबी छ ।

अध्यक्ष ओलीले पछिल्लो समय लोकप्रियतावादका नाममा भद्दा प्रयास भइरहेको र यसले सामाजिक शिष्टतालाई चुनौती दिएको धारणा राख्नुभयो । विशेष गरी सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति फैलाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपालको राजनीतिमा अहिले दुईवटा विचारबीच द्वन्द्व रहेको चर्चा गर्दै उहाँले हालको सरकारले आफूलाई क्रान्ति र आन्दोलनको उपज बताए पनि वास्तवमा यो विध्वंश र असंवैधानिक जगमा उभिएको आरोप लगाउन ुभयो । विगतमा प्रधानन्यायाधीशले सरकारको नेतृत्व गर्ने र संसद विघटन हुने जस्ता घटनाक्रमले संवैधानिक पद्धतिलाई कमजोर बनाएको उहाँको तर्क छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी अहिले दुई मोर्चामा संघर्ष गरिरहेका छौँ । सडक संघर्ष र संसदीय संघर्ष । यी दुवै एकअर्काका पूरक हुन् । सडक आन्दोलनले केही धक्का खेपेकाले कार्यकर्ताको मनोबलमा असर परेको छ, तर त्यसलाई पुनः सशक्त बनाउँदै अघि बढ्नु पार्टीको जिम्मेवारी हो ।

साथै, संसदीय भूमिकालाई पनि अझ प्रभावकारी बनाउन आवश्यक छ । आजको राजनीति नीति, विधि र स्पष्ट दिशाभन्दा बढी अस्थिरता र अवसरवादतर्फ उन्मुख भएको देखिन्छ । लोकतन्त्रमा सरकार परिवर्तन संविधान, कानून र संसदीय प्रक्रियाअनुसार हुनुपर्छ, हिंसा, आगजनी, तोडफोड वा असंवैधानिक माध्यमबाट होइन । सामाजिक सञ्जालको दुरुपयोगले पनि गलत सूचना, भ्रम, अश्लीलता र चरित्रहत्या फैलाउने प्रवृत्ति बढाएको छ ।

स्वस्थ बहसको सट्टा आधारहीन आरोप र गैरजिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाइरहेको छ । राज्य सञ्चालनमा संविधान, कानूनी शासन र लोकतान्त्रिक मूल्यको पालना अनिवार्य छ । असंवैधानिक अभ्यास, अराजकता र संस्थागत कमजोरीले लोकतन्त्रलाई कमजोर बनाउँछन् । त्यसैले लोकतान्त्रिक प्रक्रिया, संवैधानिक व्यवस्था र जनमतको सम्मान गर्दै राजनीति अघि बढ्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष ओलीले विश्व राजनीति नै थितिहीन अवस्थामा पुगेको उल्लेख गर्दै नेपालमा पनि राज्य निर्देशित अराजकता र कानुनविहीनताको अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताउनु भयो । लोकतन्त्रलाई जनमतबाट नभई अलोकतान्त्रिक विधिबाट निर्देशित गर्न खोजिएको उहाँको आरोप छ ।