काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको भविष्य युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने बताउनुभएको छ ।
युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरहरूको प्राविधिक कौशललाई एकीकृत गरी अघि बढे मात्र समृद्ध नेपालको सपना साकार हुने उहाँले उल्लेख गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले विकासको अवधारणा केवल भौतिक निर्माणमा मात्र सिमित नभई जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्नेमा जोड दिनुभयो । विकासको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्ने उल्लेख गर्दै उहाँले देशको इतिहास, भूगोल, संस्कृति र जातीय विविधतालाई विर्सन नहुने बताउनु भयो ।
वर्तमान समयको माग र नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्न उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई तिब्र रूपमा अघि बढाउनु आवश्यक रहेको उहाँको भनाइ छ । नेपालको भौगोलिक जटिलता र जलवायु परिवर्तनको जोखिमलाई औंल्याउँदै राष्ट्रपतिले दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको बताउनुभयो ।
नेपालमा बनेका सडक, पुल र जलविद्युत आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्ने र समग्र विकास हरित विकासको सिद्धान्तमा आधारित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रले नै विकास र मानवीय हितका आयामलाई सम्बोधन गर्ने बताउँदै राष्ट्रपति पौडेलले लोकतन्त्रको आदर्शलाई व्यवहार र आचरणमा अवलम्बन गर्नसके मात्र यसको वास्तविक उद्देश्य पूरा हुने स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘कुनैपनि देशको भविष्य त्यस देशका युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्दछ । जब युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरहरूको प्राविधिक कौशल एकसाथ जोडिन्छ, तब मात्र आर्थिक समृद्धि र समृद्ध नेपालको सपना साकार हुनसक्छ । समयले आज त्यो दायित्व तपाईंहरूलाई सुम्पेको छ । विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्छ । त्यसैगरी, विकासको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ । हाम्रो इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायतका विविधतालाई पनि बिर्सनु हुँदैन । वर्तमान समयको माग तथा नयाँ पुस्ताको चाहना र आकाङ्क्क्षालाई सम्बोधन गर्नेगरी उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई तिब्र रूपमा अघि बढाउनु आवश्यक छ । भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोत–साधनले सम्पन्न हाम्रो देशलाई दिगो र वातावरणमैत्री पूर्वाधारको खाँचो छ । हाम्रो सामु जलवायु परिवर्तनको ठूलो चुनौती छ । यस्तो अवस्थामा हाम्रा सडक, पुल, जलविद्युत आयोजनालगायत सबै पूर्वाधार प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्छ । हाम्रो विकास हरित विकासको सिद्धान्तमा आधारित हुनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रले नै विकास र मानवीय हितका अनेकौँ आयामलाई सम्बोधन गर्नसक्छ भन्ने कुरा बिर्सनु हुँदैन । तर लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्शका रूपमा होइन, व्यवहार र आचरणमा पनि अवलम्बन गर्न सके मात्र लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको उद्देश्य पूरा हुन्छ । हाम्रा दक्ष इन्जिनियरहरू रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ । यो देशका लागि चिन्ताको विषय हो । म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर तथा आर्किटेक्टहरूका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र काममैत्री वातावरण सिर्जना गर्न आग्रह गर्दछु ।’
दक्ष इन्जिनियरहरू रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दै गएकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभयो । युवा इन्जिनियर र आर्किटेक्टहरूका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न उहाँले सरकार र निजी क्षेत्रसँग आग्रह समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्