Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैनः एमाले उपमहासचिव महासेठ


13
Shares

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय टिकाउ नहुने दावी गर्नुभएको छ ।

जनकपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उपमहासचिव महासेठले सरकारलाई प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनुभएकाे हाे। सरकारले प्रतिपक्षलाई वास्ता गर्दैन र पेलेरै अगाडि बढ्ने सोच राख्छ भने त्यो सरकार टिकाउ नहुने उहाँको जिकिर छ । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी कार्य हुन नसकेको सङ्केत गर्दै उहाँले सरकारले सबै दललाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतकाे बारेमा टिप्पणी गर्दै उहाँले मधेसी जनताले विश्वास गरेर पठाएको भन्दै रास्वपाले पनि मधेसको भावना अनुकूल काम गर्नुपर्ने बताउनुभएकाे छ। सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको महासेठले आलोचना गर्नुभयो ।

यहि साउन १ गतेदेखि लागू हुनेगरी जग्गा खरिद–विक्री दुवै पक्षले कर तिर्नुपर्ने व्यवस्था र शिक्षा–स्वास्थ्यमा थपिएको करको भारले सर्वसाधारण मारमा परेको उपमहासचिव महासेठको दावी छ । जनताको आधारभूत आवश्यकतामा कर बढाउनु न्यायोचित नभएको भन्दै उहाँले यसप्रति सरकार गम्भीर हुनुपर्ने माग गर्नुभयो ।

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको र उपमहासचिव महासेठले देशको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभएकाे छ। वर्तमान विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू, विशेषगरी इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको असर नेपालमा पनि परेको उहाँले बताउनुभयाे ।