Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु


0
Shares

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब १ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ निवासी केशव राईका १४ वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए।

स्थानीयवासीको सहयोगमा गरिएको खोजीका क्रममा युकेशलाई डुबेको स्थानबाट उद्धार गरी दिउँसो करिब २ बजे उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर चिकित्सकले दिउँसो २ः२५ बजे उहाँलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, प्रहरीले वर्षायाममा खोलानाला तथा पानी जमेको खाल्डोमा पौडी नखेल्न, बालबालिकालाई डुबानको जोखिम भएका स्थानमा जान नदिन तथा बाढी आएको बेला खोला, खोल्सा वा लच्का जबरजस्ती तर्न प्रयास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।