Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन


0
Shares

काठमाडौं । कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज कालीकोट पग्नुभएको छ ।

सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री लम्सालले भोलि शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

ती सडकको निरीक्षण सके लगत्तै उहाँ नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताउनुभयो ।

स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिँडेका मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने र त्यही मुताबिक योजना बनाएर सरकार अगाडि बढ्ने लक्ष्यका साथ कर्णाली आएको बताइएको छ ।

कर्णालीका छ र सुदूरपश्चिमको बाजुरा जिल्लाको सडक पूर्वाधारलाई सुरक्षित बनाउन नयाँ आर्थिक वर्षको पहिलो दिनमै मन्त्री आफैँ राजमार्ग र सडक सञ्जालको अवस्था बुझ्न स्थलगत रूपमै निस्किनुले जनतामा सकारात्मक सन्देश प्रवाह भएको छ।