काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि ६ जना मार्की खेलाडी सार्वजनिक गरिएको छ ।
खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेश वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका हुन् । त्यसैगरी, अन्नपूर्ण स्पाइकर किंग्समा हिमाल सुनारी, कर्णाली शिवराजमा पहल गहतराज र काठमाडौं रेड्समा सुनिल बोहरा मार्की छन् । धिरोजबाहेक पाँच खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । धिरोजसँग यू–१९ राष्ट्रिय भलिबल टोलीको कप्तानी गरेको अनुभव समेत छ ।
त्यस्तै, खप्तडमा रुपेशकुमार विष्ट, मधेसमा भरत यादव र सगरमाथामा उत्सव खड्का प्रशिक्षक हुन् । यता, रमेश केसीले अन्नपूर्ण, चन्द्रबहादुर कुँवरले कर्णाली र नृपबहादुर विकले काठमाडौंको प्रशिक्षण सम्हाल्ने छन् । नेपाल भलिबल संघको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा ६ टोलीको सहभागिता रहने भएकाे हाे ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बहुद्देश्यीय कभर्डहलमा आगामी भदौ १२ देखि २० गतेसम्म हुने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्