सविना अछामे-संवाददाता
खोटाङ । खोटाङमा सञ्चालित दर्जन बढी विकास योजनाहरू अलपत्र परेका छन् । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण सडक तथा पुल निर्माणका ठूला योजनाहरू समयमै सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको हाे ।
पूर्वाधार विकास कार्यालय खोटाङले चालु आर्थिक वर्षमा सञ्चालन गरेका १ सय २५ योजना मध्ये करिब एक दर्जन महत्वपूर्ण योजनाहरू अपूरै रहेका छन् । निर्माण कम्पनीहरूले सम्झौता गरेर पनि बेलैमा काम शुरु नगर्दा र शुरु गरेका काम पनि अलपत्र छाड्दा खोटाङका मुख्य पाँच ठूला योजनाहरू संकटमा परेका हुन्। विकासका नाममा शुरु भएका आयोजना समयमै नसकिँदा स्थानीय मनकला राईले सडकमा सास्ती भोग्नुपरेको बताएका छन्।
अधूरै रहेका योजनाहरूमा हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला र नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडक खण्ड मुख्य हुन्। यी दुवै सडकको ठेक्का पाएको ’बीसी–पीसी–पीकेबी जेभी’ले गत असार १५ भित्रै काम सक्नुपर्ने थियो। तर, २ करोड ५३ लाख रुपैयाँ बजेटको हुर्लुङ सडकको भौतिक प्रगति २५ प्रतिशत र २ करोड ३८ लाखको नुनथला सडकको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ।
त्यस्तै, २ करोड ३६ लाख रुपैयाँ लागतको बङ्शिला–चिसापानी–मौवाबोटे सडकको वित्तीय प्रगति ४५ प्रतिशत मात्र छ । १ करोड १६ लाखको दिक्तेल अस्पतालचौक–साकेला सडकको प्रगति ८१ प्रतिशतमा रोकिएको हाे। उता, तराई जोड्ने छोटो दूरीको दिखुवा खोला पुलको भौतिक प्रगति पनि जम्मा साढे ३१ प्रतिशत मात्रै हुँदा यातायात सेवा अवरुद्ध भएकाे कार्यालयका सूचना अधिकारी रजत पोखरेलले बताउनुभयाे ।
कार्यालयले चालु आर्थिक वर्षका लागि विनियोजित कुल ८५ करोड ८५ लाख रुपैयाँ बजेटमध्ये ७४ करोड ९८ लाख रुपैयाँ मात्र खर्च भएको जनाएकाे हाे । बजेट भएर पनि ठेकेदारको लापरबाही र कमजोर नियमनका कारण विकासका आयोजना अलपत्र परेका छन् । समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा नल्याएसम्म नागरिकले यस्तै सास्ती भोगिरहनु पर्ने निश्चित छ ।









प्रतिक्रिया दिनुहोस्