काठमाडौं । सरकारले स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत सञ्चालन गरिएका कृषि तथा पशुपन्छी विकास कार्यक्रमहरूको प्रगति विवरण माग गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन भएका कार्यक्रमहरूको प्रगति विवरण पठाउन निर्देशन दिएको हो। कृषि मन्त्रालयको समन्वयमा पठाइएको उक्त परिपत्रमा कृषिजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि सञ्चालित योजनाहरूको प्रभावकारिता र कार्यान्वयनको अवस्था बुझ्न प्रतिवेदन माग गरिएको छ।
मन्त्रालयले स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमहरूलाई व्यवस्थित, पारदर्शी, प्रभावकारी र नतिजामुखी बनाउन ‘सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ र ‘पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ बमोजिम प्रगति विवरण बुझाउनुपर्नेमा जाेड दिएकाे छ।
स्थानीय तहहरूले त्रैमासिक तथा वार्षिक रूपमा भौतिक र वित्तीय प्रगतिको विस्तृत विवरण तयार पारी केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको हाे। मन्त्रालयले परिपत्रसँगै प्रगति प्रतिवेदनको निश्चित ढाँचा समेत पठाएको छ । जसमा कार्यक्रमको नाम, वार्षिक विनियोजित बजेट, भौतिक लक्ष्य, हालसम्मको प्रगति, देखिएका समस्या र समाधानका उपायहरू समेत उल्लेख गर्नुपर्ने मन्त्रालयले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्