Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


फिफा विश्वकपकाे फाइनलमा उत्कृष्ट खेल खेल्नका लागि सम्पूर्ण शक्ति जुटाएका छाैं: कप्तान मेसी


13
Shares

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक फिफा विश्वकप फुटबलको फाइनलमा पुर्‍याएपछि समर्थकप्रति आभार व्यक्त गरेका छन्।

इङ्ग्ल्यान्डलाई २–१ गाेलले पराजित गर्दै अर्जेन्टिनाले फाइनल यात्रा तय गरेलगत्तै मेसीले सामाजिक सञ्जालमार्फत भावुक सन्देश साझा गरेका हुन् । मेसीले फाइनलमा पुगेकाे र अब फेरि एक पटक अर्को उत्कृष्ट खेल खेल्नका लागि आफ्नो सम्पूर्ण शक्ति जुटाएकाे बताएका छन्। यो टोलीमाथि विश्वास गर्ने सबैलाई धेरैधेरै धन्यवाद समेत दिएका छन् ।

सेमिफाइनलमा अर्जेन्टिनाले संघर्षपूर्ण प्रदर्शन गर्दै इङ्ग्ल्यान्डलाई पराजित गरेकाे थियो। उक्त जितसँगै साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनलमा पुगेको छ । मेसीको सन्देशले टोलीको एकता, संघर्ष र समर्थकप्रतिको सम्मान झल्काएको हाे। पोस्ट सार्वजनिक भएको केही समयमै लाखौं समर्थकले प्रतिक्रिया जनाउँदै अर्जेन्टिनालाई उपाधि जित्ने शुभकामना समेत दिएका छन्।

अब अर्जेन्टिनाले विश्वकप उपाधिका लागि फाइनलमा स्पेनको सामना गर्ने भएाे हाे। अर्जेन्टिना लगातार दोस्रो तथा समग्रमा अर्को विश्वकप उपाधि जित्ने लक्ष्यमा छ। स्पेन दोस्रो पटक विश्वकप जित्ने प्रयासमा हुने भएकाे हाे।