Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मधेसका काँग्रेस–एमाले र नेकपाले भने–अरु प्रदेशको हावाले मधेसलाई छुँदैन


0
Shares

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सरकारमा नेकपा एमालेसँगको सहकार्य जारी रहने बताउनुभएको छ ।

केन्द्रमा नेपाली काँग्रेस र नेकपा (एमाले) बीचको राजनीतिक समीकरणमा फेरबदल आउने संकेत देखिए पनि मधेस प्रदेश सरकार भने संकटमा नरहेको मुख्यमन्त्री यादवले स्पष्ट पार्नुभएको हो । अन्य प्रदेशहरूमा बजेट तथा नीतिगत विषयमा असमझदारी बढ्दा सत्ता समीकरणमा प्रभाव परे पनि मधेस प्रदेशमा भने सत्ता साझेदार दलहरूबीच सुमधुर सम्बन्ध रहेको उहाँको दाबी छ ।

सञ्चारमाध्यममा आएका चर्चाका सम्बन्धमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा हालै मात्र सर्वसम्मत रूपमा बजेट पारित भएको र सत्ता पक्षका तीनवटै दलहरू एकढिक्का रहेको बताउनु भयो । उहाँले सत्ता साझेदार दलहरूबीचको एकता कायम रहेकाले सरकार निरन्तर सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीबीच कुनै असमझदारी छैन । प्रतिपक्षलाई समेत समेटेर पूर्ण समझदारीका आधारमा बजेट पारित गरेका छौँ, त्यसैले यहाँ सरकार परिवर्तनको कुनै सम्भावना छैन ।’
यसै सन्दर्भमा नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले पनि केन्द्रको हरेक राजनीतिक घटनाक्रम प्रदेशमा जस्ताको त्यस्तै लागू हुनुपर्छ भन्ने अनिवार्य नरहेको बताउनु भयो । मधेस प्रदेश सरकारमा कुनै किसिमको संकट नरहेको जिकिर गर्दै नेता यादवले नेपाली काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित सरकार आपसी सहमतिमै अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेशका संसदीय दलका नेता युवराज भट्टराईले मधेस प्रदेश सरकार अरु प्रदेश भन्दा फरक ढंगले विशिष्ट प्रकारबाट गठन भएको भन्दै अरु प्रदेशको हावाले नछुने स्पष्ट पार्नुभयो । मधेस प्रदेशमा बुधवार मात्रै सर्वसम्मत बजेट पारित गरेकाले अहिलेको गठबन्धनको सरकारबाटै ठिक ढंगले बजेट कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेस र नेकपा (एमाले) बीच दुई वर्षअघि भएको सातबुँदे सहमति पालना नभएको भन्दै पछिल्लो समय प्रदेश तहमा गठबन्धन अन्त्य हुने संकेतहरू देखिएका छन् । बुधवार सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले केन्द्रको समीकरण संकटमा परेको देखिए पनि मधेस प्रदेशका नेतृत्वकर्ताहरूले भने आफ्नो प्रदेशको हकमा वर्तमान सरकार नै मजबुत रहने दाबी गरेका छन् ।