काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद क्षितिज थेबेले मुलुकको औद्योगिक विकास र श्रमिकको हितका लागि संसदीय समितिले नीतिगत सुधारमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद थेबेले केवल भौतिक संरचनाको अनुगमनमा मात्र सिमित नभई सरकार, उद्यमी र श्रमिक–तीनवटै पक्षलाई फाइदा पुग्ने गरी नीतिगत हस्तक्षेप गर्न आवश्यक रहेको बताउनुभयो ।
अनुगमनका क्रममा श्रमिकहरूको स्वास्थ्य र सुरक्षाको अवस्था निकै कमजोर पाइएको उल्लेख गर्दै उहाँले यसमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उपत्यका भित्रका औद्योगिक क्षेत्र र बाहिरका करिडोरहरूलाई फरक दृष्टिकोणले हेर्नुपर्ने थेबेको तर्क छ । सहरी क्षेत्रभित्र सञ्चालित उद्योगहरूबाट हुने प्रदुषण र सुरक्षा खतरालाई ध्यानमा राख्दै समितिले कडा मापदण्ड लागू गर्नुपर्ने उहाँले माग गर्नुभयो ।
स्टार्टअपको विषयमा बोल्दै थेबेले केवल उद्योग विभागमा दर्ता हुँदैमा स्टार्टअपको लक्ष्य पूरा नहुने बताउनु भयो । देशका सबै पालिकामा रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई युवा उद्यमशीलतासँग जोड्नुपर्ने उहाँको सुझाव छ । जबसम्म स्थानीय स्तरमा उद्यमीमैत्री वातावरण बन्दैन, तबसम्म रोजगारी सिर्जना गर्न र युवाहरूको वैदेशिक पलायन रोक्न नसकिने उहाँको ठहर छ । ४० प्रतिशत हिस्सा ओगट्ने युवा जनशक्तिलाई विश्वासमा लिएर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सांसद थेबेले भन्नुभयो, ‘शुरु भएपछि हाम्रो प्रयास सधैँ राम्रो परिणाम दिने खालको हुनुपर्छ । मेरो विचारमा समितिले अनुगमनमा मात्र सीमित नभई नीतिगत विषयमा बढी केन्द्रित हुनुपर्छ । अनुगमनमा जाँदा संरचना राम्रो देखाउनु स्वाभाविक हो, त्यो देखिनु पनि पर्छ । तर हाम्रो मुख्य उद्देश्य त्यहाँको वास्तविक समस्या पहिचान गर्ने र नीतिगत सुधारका लागि पहल गर्ने हुनुपर्छ । हाम्रो उद्देश्य सरकारलाई प्रभावकारी बनाउने, उद्यमीलाई उत्साहित गर्ने र श्रमिकको हित सुनिश्चित गर्ने हुनुपर्छ । कुनै एउटा उद्योगको मात्र कुरा होइन, समग्र औद्योगिक क्षेत्रको सुधारमा ध्यान दिनुपर्छ ।
विशेषगरी श्रमिकको स्वास्थ्य र सुरक्षाको विषय अत्यन्त महत्वपूर्ण छ। अनुगमनका क्रममा कतिपय ठाउँमा श्रमिकहरू रासायनिक पदार्थसँग काम गरिरहेको तर आवश्यक सुरक्षा सामग्री, जस्तै मास्क, प्रयोग नगरेको अवस्था देखियो । यो विषय श्रमिकको स्वास्थ्यका लागि मात्र होइन, उद्योगीको जिम्मेवारी र दीर्घकालीन हितसँग पनि जोडिएको छ । त्यसैले हेल्थ एन्ड सेफ्टीको विषयलाई हामीले गम्भीर रूपमा उठाउनुपर्छ । त्यसैगरी, उद्यमीलाई प्रोत्साहन गर्ने र उद्योगमैत्री वातावरण निर्माण गर्ने काम पनि समितिको जिम्मेवारी हो ।
उपत्यकाभित्रका औद्योगिक क्षेत्र, औद्योगिक करिडोर र बाहिरी क्षेत्रका उद्योगलाई फरक–फरक दृष्टिकोणबाट हेर्नुपर्छ । प्रदूषण नियन्त्रण र सहरको सुरक्षासँग सम्बन्धित विषयमा स्पष्ट मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ । अर्को विषय, यो समिति युवा, उद्योग, श्रम र श्रमिक सबै क्षेत्रसँग प्रत्यक्ष जोडिएको छ । स्टार्टअपको विषयमा माननीय मन्त्रीज्यूले राख्नुभएको सोच अत्यन्त सकारात्मक छ । तर उद्योग विभागमा दर्ता भएका स्टार्टअपको संख्या मात्र बढाएर हाम्रो उद्देश्य पूरा हुँदैन। हामीले नीतिगत रूपमा यस्तो वातावरण निर्माण गर्नुपर्छ, जसले स्थानीय तहसम्म उद्यमशीलता विस्तार गर्न सहयोग पु¥याओस् ।’
आगामी दिनमा गरिने औद्योगिक अनुगमनलाई थप प्रभावकारी बनाउन ‘प्रि–वर्कआउट’ (पूर्व–तयारी) गरेर मात्र जानुपर्ने उहाँले सुझाव दिनुभयो । अनुगमनले केवल समस्या मात्र नदेखाई ठोस नतिजा र नीतिगत स्पष्टता ल्याउनुपर्नेमा उहाँको जोड छ ।









प्रतिक्रिया दिनुहोस्