स्कटल्याण्ड। स्कटल्याण्डको राजधानी एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली राजदूतावास लण्डन, गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) यूकेको सहयोगका साथै राज्य समन्वय समिति (एससीसी) र स्कटल्याण्डका विभिन्न संघ–संस्थाहरूको संयुक्त आयोजनामा उक्त मेला सम्पन्न भएको हो। गत वर्ष सन् २०२५ जुन २३ तारिखमा दूतावासकै सहयोगमा पहिलो ऐतिहासिक मेला भव्य रूपमा सम्पन्न भएको थियो। यस वर्षको मेला पनि सोही स्वरूपमा आयोजना गरिएको जानकारी कार्यवाहक राजदूत विपिन दुवाडीले बताउनुभयो ।

बेलायतका ठूला शहरहरूमा गरिने यस्ता मेलाले नेपाली पर्यटन, कला, संस्कृति, भाषा र भेषभूषाको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास बेलायतमा रहेका नेपालीहरुको रहेको छ । स्कटल्याण्डमा यसको शुरुवात कार्यवाहक राजदूत दुवाडीकै पहलमा भएको जानकारी पहिलो मेलाका संयोजक तथा एाआरएनए एनसीसी युकेका महासचिव दिवाकर पाण्डेले दिनुभयो। मेलालाई भव्य बनाउन एनआरएनए एनसीसी युकेका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा स्कटल्याण्डका पदाधिकारी, सदस्य, सल्लाहकारहरू र एससीसी स्कटल्याण्डबीच संयुक्त छलफल समेत गरिएको सल्लाहकारद्वय मोती खरेल र शशी कार्कीले जानकारी गराएका छन्।

मेलाको अवसरमा कार्यवाहक राजदूत दुवाडीले शुभकामना दिँदै पहिलो मेलाका आयोजक समितिका पदाधिकारीहरूलाई प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो। स्कटल्याण्डमा प्रत्येक वर्ष यो मेलालाई नेपाली समुदायको पर्वको रूपमा लिइने र यसलाई स्थापित गर्न अहम् भूमिका निर्वाह गरेबापत सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको एनआरएनए युकेका सल्लाहकार कार्कीले बताउनुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्