काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको शान्ति सुरक्षा र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई प्रदर्शन अनुमति नदिने भएकाे छ।
मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै नेपालको शान्ति सुरक्षा र छिमेकी देशको विरोधमा रहेका कुनै पनि चलचित्रलाई प्रदर्शनको अधिकार दिन नसकिने प्रस्ट पारेको हाे। मन्त्रालयले बोर्डलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३) मा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु–सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन भन्ने समेतको व्यवस्था रहेको स्मरण गराएको छ ।
नेपालभित्र सार्वजनिक प्रदर्शन हुने चलचित्रहरूले चलचित्र जाँच समितिमा जाँचपासको लागि निवेदन दिने र सो को आधारमा प्रचलित ऐन, नियमावली बमोजिम जाँचपास भई प्रदर्शन हुने व्यवस्था रहेकाे जारी परिपत्रमा उल्लेख छ । मन्त्रालयले यस बमोजिम चलचित्र निर्माता, वितरक तथा अन्य सरोकारवालाहरूले ऐनको उक्त प्रावधानलाई पूर्ण रुपमा पालना गर्नुपर्ने जनाएकाे हाे ।
ऐनको व्यवस्था विपरीतका विषयवस्तु समावेश भएका चलचित्रहरू जाँचपासको लागि प्राप्त भएमा उक्त ऐनको दफा ८ (३) बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन नसकिने मन्त्रालयले प्रस्ट पारेको छ । चलचित्र ‘अल्फा’ले उठान गरेको विषयलाई लिएर प्रदर्शनको अनुमति दिने कि नदिने भनर चलचित्र जाँच समितिमा उठेपछि मन्त्रालयले बोर्डलाई परिपत्र गरेको हो ।
‘अल्फा’लाई भने मन्त्रिको निर्देशनमा अन्तिम समयमा प्रदर्शनको अनुमति दिइएको थियो ।









प्रतिक्रिया दिनुहोस्