Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


ठेक्का दिलाइदिने भन्दै करोडौंको हानि गराएको आरोपमा अभिषेक गिरी पक्राउ


1.6k
Shares

काठमाडौं । निर्माण व्यवसायीलाई ठेक्का दिलाइदिने प्रलोभन देखाएर ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय अभिषेक गिरी पक्राउ परेका छन्।

प्रहरीका अनुसार निर्माण व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा गिरीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको हो।

जाहेरीअनुसार गिरीले विभिन्न व्यक्तिसँग आफ्नो पहुँच रहेको भन्दै आयोजनाको ठेक्का पारिदिने विश्वास दिलाएका थिए। उनले आफ्नै आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि. मार्फत ठेक्का सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गरिदिने आश्वासन दिए पनि काम नगर्दा ठेक्का सम्झौता रद्द भई जाहेरवालालाई ठूलो आर्थिक क्षति पुगेको आरोप छ।

यस्तै, निर्माणमा प्रयोग हुने सवारीसाधनहरू कब्जामा लिएर केही सवारीसाधन जाहेरवालालाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेको तथा बाँकी सवारीसाधन नियन्त्रणमा राखी डर–त्रास देखाएर काठमाडौंस्थित घरजग्गा राजीनामा पास गराएको आरोप पनि गिरीमाथि लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गिरीले जाहेरवालाले अन्य व्यक्तिबाट लिनुपर्ने रकमसमेत आफ्नो नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ लिएको र त्यसबाट जाहेरवालालाई थप आर्थिक हानि पुर्‍याएको आरोप छ।

उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट २०८३ असार २२ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि गिरीलाई पक्राउ गरेको हो।

Skip This