Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


ग्रामीण आमाहरूको तुलनामा शिक्षित र शहरका आमाहरुले कम स्तनपान


299
Shares

सविना अछामे, खोटाङ । नेपालमा शिक्षित र सहरी क्षेत्रका आमाहरूको तुलनामा ग्रामीण भेगका आमाहरूले नवजात शिशुलाई बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय खोटाङले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, नेपालमा २२ प्रतिशत आमाहरूले शिशुलाई बुटल वा दुधदानीबाट कृत्रिम दुध खुवाउने गरेका छन्।

सबैभन्दा बढी बागमती प्रदेशमा ४३ प्रतिशत र कोशी प्रदेशमा २५ प्रतिशत आमाहरूले दूधदानी प्रयोग गर्ने गरेको पाइएको छ। सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार, ६१ प्रतिशत आधारभूत र ५३ प्रतिशत माध्यमिक शिक्षा प्राप्त आमाहरूले पर्याप्त स्तनपान गराउँदैनन् भने उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाहरूले दूधदानी प्रयोग गर्छन्।

कृत्रिम दूधको प्रयोगले शिशुहरूमा झाडापखाला, मोटोपना र श्वासप्रश्वासको सङ्क्रमण जस्ता समस्या देखिने र आमाहरूमा स्तन क्यान्सर तथा मधुमेहको जोखिम बढ्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ। शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराए र ६ महिनासम्म आमाकै दूध मात्र खुवाएमा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

सरकारले स्तनपान संरक्षणका लागि कानुनी व्यवस्था र जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्ने वा प्रवद्र्धन गर्ने स्वास्थ्यकर्मी र उत्पादकहरूलाई जरिवाना तथा कैद सजायको समेत कानुनी व्यवस्था रहेको जनस्वास्थ्य अधिकृत शिवेन्द्रप्रसाद सिंले बताउनुभयो।