काठमाडौं । बालेन्द्र शाह नेतृत्व सरकार गठनको १ सय दिन पूरा भएकाे छ ।
सरकारले सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको हाे।सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जबाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ । परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूबाट प्रदान गरिने सेवालाई थप सरल, सहज, प्रभावकारी, प्रविधि एवम् सेवाग्राही मैत्री बनाउने कार्यमा प्रभावकारी कदमहरू चालिएको र उपलब्धिहरू पनि हासिल भएका मन्त्रालयले जनाएको हाे।
मन्त्रालयले पनि यस अवधिमा सरकारको १ सय बुँदे कार्य योजना अन्तर्गका साथै अन्य विभिन्न उपलब्धि हासिल गरेको छ । मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलर लगायत सेवा प्रदान गर्न ‘मोफा मित्र’ नामक एप तयार गरी सञ्चालनमा ल्याएको हाे । त्यसैगरी, कन्सुलर सेवा विभागको कन्सुलर तथा कानूनी परामर्श सेवाको ‘अनलाइन’ सेवा हालसम्म सबै जिल्ला तथा ५ सय ३७ स्थानीय तहसम्म विस्तार गरिएको छ ।
पोर्चुगलमा रहेका नेपालीमध्ये करिब दुई हजार जनाको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा ‘कन्सुलर’ प्रमाणीकरणको छाप कीर्ते पाइएकाले उनीहरूलाई त्यहाँको अस्थायी आवासीय अनुमतिपत्र दिन समस्या भएको थियो । त्यस सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले आ–आफ्ना समकक्षीसँग सो बारेमा कुराकानी गरेपश्चात् उक्त समस्या समाधान भएको छ ।
दक्षिण पूर्वी एशियामा अनलाइन ‘स्क्यामिङ्ग’मा ठगीमा परेका ८ सय १९ जनालाई यस अवधिमा परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरूको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको मन्त्रालयले जनाएको हाे । त्यसैगरी, नेपालको निरन्तर कूटनीतिक पहलमा युएई सरकारले युएईमा थुनामा रहेका १ सय २८ जना नेपाली नागरिकलाई गत वैशाख २ गते तथा साउदी अरब सरकारले थुनामा रहेका ३३ जना नेपाली नागरिकलाई यहि असार १६ मा क्षमादान दिएको थियो ।
नेपाली चियाको भारत निर्यात सहजताका लागि भारतको विदेश मन्त्रालय र अन्य निकायसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले संवादमार्फत समाधान गरेको छ । त्यस्तै, पश्चिम एशिमा तनावको अवस्थामा उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा रहेका नेपाली नागरिकको सुरक्षालाई केन्द्रमा राखी विभिन्न काम गरिएको हाे ।
मन्त्रालयमा २४ घण्टे आपत्कालीन प्रतिकार्य समूह गठन गरिएको छ । साेही क्षेत्रमा समस्यामा परेका एक हजार ४७ जनालाई नेपाल फिर्ता ल्याइएको सरकारले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्