Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


कंगाेमा इबोलाको प्रकोप भयावह बन्दै

उपचारका लागि क्लिनिकल ट्रायल शुरू

26
Shares

एजेन्सी । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा जारी इबोला प्रकोप अझै पनि अत्यन्त गम्भीर अवस्थामा रहेको चेतावनी दिएकाे छ।

अफ्रिका सीडीसीका महानिर्देशक जीन कसेयाले कङ्गोमा हालसम्म इबोलाका कारण ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताउनुभएकाे हाे । सम्भावित उपचारको मूल्याङ्कनका लागि क्लिनिकल ट्रायल (नैदानिक परीक्षण) समेत शुरु गरिएको छ । महानिर्देशक कसेयाले विगतका इबोला प्रकोप र पश्चिम अफ्रिकी इबोला महामारीको तुलनामा वर्तमान प्रकोपमा सङ्क्रमण र मृत्युदर दुवै निकै तीब्र गतिमा बढिरहेको बताउनुभयाे ।

कङ्गो सरकारले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जुन ३० सम्ममा इबोलाका १ हजार ४ सय ६ पुष्टि भएका सङ्क्रमित फेला परेका छन् । ४ सय ३८ जनाको मृत्यु भइसकेको हाे । प्रकोप अझै केही हदसम्म फैलिरहेको भए तापनि कङ्गो सरकारले सङ्क्रमणको चक्र तोड्न र यसलाई अन्त्य गर्न सही कदमहरू चालिरहेको उल्लेख गरिएकाे छ।

महानिर्देशक कसेयाले कङ्गोले हाल इबोलाको मात्र नभई अन्य जनस्वास्थ्य संकटको पनि सामना गरिरहेको बताउनुभयो । उहाँले इबोला प्रभावित क्षेत्रहरूमा नै हैजा र दादुराका सङ्क्रमण र मृत्युका घटनाहरू पनि उल्लेख्य रूपमा बढिरहेकाे समेत बताउनुभएकाे छ।