Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको हिजबुल्लाहकाे आरोप


26
Shares

एजेन्सी । हिजबुल्लाहले युद्धविराम सम्झौताको बारम्बार इजरायलले उल्लङ्घन गरेको आरोप लगाएकाे छ ।

हिजबुल्लाहले त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको जनाएकाे हाे । हिजबुल्लाहले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानको नाबाटीह र मेफादुन क्षेत्रमा रहेका आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको तथा फ्रोन गाउँमा ड्रोन आक्रमण गरिएको दावी गरेको छ।

जारी विज्ञप्तिमा इजरायली सेनाले तैयबेह, हद्दाथा र मजदल जुन क्षेत्रमा आवासीय भवन भत्काएको, बुर्ज कलाउइयेह र बाराचितमा नागरिक बसोबास क्षेत्र नजिक स्टन ग्रेनेड खसालेको तथा नाबाटीह अल–फौका र कफर तेब्नित गाउँमा शङ्कास्पद वस्तु छोडेको आरोप समेत लगाइएको छ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले आइतबार इजरायली युद्धक विमानले नाबाटीह र मेफादुन क्षेत्रमा हवाई आक्रमण गरेकाे जनाएकाे हाे । साथै, इजरायली सेनाले मजदल जुन क्षेत्रमा सुरुङ विस्फोट गराएको र सीमावर्ती सहर खियाममा भारी मेसिनगनबाट गोली प्रहार गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले  बुर्ज कलाउइयेह क्षेत्रमा इजरायली स्टन ग्रेनेड खस्दा दुई जना सर्वसाधारण घाइते जनाएकाे हाे ।

यसअघि लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा भएको पाँचौँ चरणको प्रत्यक्ष वार्तापछि यहि जुन २६ तारिखमा वाशिङ्टनमा युद्धविराम सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। हिजबुल्लाहले पछिल्ला घटनालाई उक्त सम्झौताको उल्लङ्घन भएको दावी गरेको छ।