प्रकाशकुमार लम्साल, बारा । कुनैबेला पूर्व पश्चिम यात्रा गर्ने वा काठमाडौंबाट हेटौंडा हुँदै बिरगञ्ज ओहोरदोहोर गर्ने अधिकांश यात्रुको थकाई मार्ने र स्वादिलो खाना खाने बजारको रुपमा परिचित थियो, बाराको तीन नम्बर पुल बजार ।
हेटौँडा–पथलैया सडक खण्डमा पर्ने ऐतिहासिक तथा व्यस्त विश्रामस्थल ’तीन नम्बर बजार’ अहिले खण्डहरमा परिणत भएको छ । वन क्षेत्र अतिक्रमण गरि बनाएका संरचना हटाउने अभियानका कारण यात्रुको बिश्राम गर्ने स्थल मात्रै होइन यहाँका सयभन्दा बढी परिवारको गाँस र बास पनि खोसिएको छ ।
यस अघि हेटौँडा–पथलैया राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूको भरपर्दो विश्रामस्थलको पहिचान बनाएको तीन नम्बर पुल बजारमा अहिले भग्नावशेष मात्र भेटिन्छन ।
पर्सा निकुञ्ज, जिल्ला वन, सडक डिभिजन, जिल्ला प्रशासन र प्रहरीको संयुक्त टोलीले चलाएको डोजरले यहाँका सयभन्दा बढी परिवारको उठीवास भएको छ । सार्वजनिक जग्गा र अनाधिकृत बसोबास हटाउने क्रममा डोजर चलाइएपछि बजार खण्डहरमा परिणत भएको हो ।
यसरी डोजर चलाउँदा साना व्यवसायी र सर्वसाधारण सडकमा पुगेका छन् भने वित्तीय क्षेत्रमा समेत यसको असर देखिन थालेको छ । विक्रम संवत २०४५ सालदेखि बस्दै आएकाहरुले कुनै ठोस विकल्प वा सामान व्यवस्थापन गर्ने न्यूनतम समय समेत नदिई उठिवास लगाएको गुनासो गर्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्