शुभकला राई, ओखलढुंगा ।
संघीयताको कार्यान्वयनसँगै ओखलढुंगामा स्थानीय, प्रदेश र संघीय सरकारको करोडौँ लगानीमा विभिन्न पर्यटकीय संरचनाहरू निर्माण भएका छन् ।
पार्क, भ्युटावर, धार्मिक स्थल, पदमार्गलगायतका क्षेत्रमा ठुलो बजेट खर्च गरिए पनि प्रभावकारी व्यवस्थापन र प्रचारप्रसारको अभावमा यी संरचनाहरू ओझेलमा पर्दै गएका छन् । लगानी अनुरूप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नसक्दा र निर्माण भएका संरचनाको उचित संरक्षण नहुँदा सरकारी लगानी बालुवामा पानी जस्तै बन्ने खतरा बढेको छ ।
ओखलढुंगामा पर्यटन क्षेत्रको विकासले प्राथमिकता पाउन थालेको करिब एक दशक भयो । संघीयता कार्यान्वयनपछि संघ, प्रदेश, स्थानीय तह र समुदाय समेतले यो क्षेत्रमा लगानी बढाए । जिल्लाका विभिन्न स्थानमा पार्क, भ्यू टावर, धार्मिक स्थल, पदमार्ग, विश्रामस्थल, झरनालगायतका क्षेत्रमा पर्यटकीय संरचना निर्माण गर्ने लहर नै चल्यो ।
सदरमुकाम क्षेत्रमा सिद्धिचरण पार्क, सष्टा पार्क, चट्टानमा शिवमूर्तिलगायतका संरचना बनाइए । सदरमुकाम आसपासमा भ्युटावर, गढी, केही पदमार्ग र धार्मिक संरचनाहरु समेत तयार गरिए । यो अवधिमा सय गन्तव्य सूचिमा सूचिकृत पोकली झरना र देम्बा डाँडामा समेत पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो लगानी भइसकेको छ । सेप्ली झरना, चम्पादेवी मन्दिर, तीनछाँगे झरना, लिब्जु डाँडा, कोटगढीलगायतका क्षेत्रमा पनि पर्यटकीय पूर्वाधार विकासमा लगानी भइसकेको छ ।
पर्यटनका क्षेत्रमा लगानी बढिरहे पनि पर्यटक भने अपेक्षित रूपमा बढ्न सकेका छैनन् । पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्च भए पनि त्यसको संरक्षण, व्यवस्थापन र प्रवद्र्धनमा पर्याप्त ध्यान पुगेको छैन । धेरै ठाउँमा संरचना बनेपछि त्यसको रेखदेख गर्ने निकाय नै देखिँदैनन् ।
कतिपय योजना अधुरा छन् भने कतिपय निर्माण सम्पन्न भएर पनि उपयोगविहीन अवस्थामा छन् । निर्माणलाई मात्रै उपलब्धि मान्ने तर त्यसलाई सञ्चालन र व्यवस्थापन गर्ने विषय ओझेलमा पर्दा जिल्लामा पर्यटनको क्षेत्रले अपेक्षित गति लिन नसकेको स्थानीयको बुझाइ छ ।









प्रतिक्रिया दिनुहोस्