Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


अमेरिकासँग गरिएकाे शान्ति सम्झौता ठूलो जित भएकाे इरानकाे दावी

फ्रिज गरिएका कोष फुकुवा हुनु देशका लागि ठूलो उपलब्धि भएको ठहर

13
Shares

एजेन्सी । इरानले अमेरिकासँग भएको सम्झौतालाई ठूलो जितका रुपमा विश्लेषण गरेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा यस्ताे विश्लेषण गर्नुभएकाे हाे । अमेरिकासँगको समझदारीपत्रपछि फ्रिज गरिएका कोष फुकुवा हुनु देशका लागि ठूलो उपलब्धि भएको उहाँकाे तर्क छ ।

उहाँले सम्झौताको धारा ११ अनुसार इरानले ६–६ अर्ब अमेरिकी डलरका दुई अलग रकम प्राप्त गर्ने जानकारी दिनुभयाे। यसका लागि प्रारम्भिक तयारी कतार भ्रमणका क्रममा भएको र अन्तिम स्वीकृति स्विट्जरल्यान्डमा प्राप्त भएको उहाँकाे भनाइ छ ।

सभामुख गालिबाफले धारा १० अन्तर्गत तेल, पेट्रोकेमिकल उत्पादन, बैंकिङ, बीमा तथा यातायात क्षेत्रमा लगाइएका प्रतिबन्धमा पनि अन्तिम सम्झौता नहुँदासम्मका लागि केही राहत प्रदान गरिएको बताउनुभयाे ।

उहाँले यी निर्णयलाई सम्झौताबाट प्राप्त पहिलो ठूलाे लाभका रूपमा व्याख्या गर्दै इरानले यसलाई प्रारम्भिक विजयका रूपमा लिएको समेत जिकिर गर्नुभएकाे छ ।