काठमाडाैं । फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई पराजित गरेकाे छ ।
मेक्सिकोमा आइतबार सम्पन्न भएकाे खेलमा जापानले ट्युनिसियालाई ४ गोल अन्तरले पराजित गरेकाे हाे । विश्वकप फुटबलको यो एक हजार औं खेल हो । सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औं वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ ।
आइतबारकाे खेलमा जापानले खेलको चौथो, ३१औं, ६९औं र ८३औं मिनेटमा गोल गरेकाे हाे । दाइची कामाडाले चौथो र आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै, जुनियले ६९औँ मिनेटमा गोल गरेका थिए ।
जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको थियो । याे जितसँगै समूह ‘एफ’ मा जापानले ४ अंक जोडेको हाे । यो समूहमा नेदरल्यान्ड्सको पनि समान ४ अंक छ । त्यस्तै, ३ अंक रहेको स्विडेन तेस्रो र अंकविहीन ट्युनीसिया पुछारमा छ ।
यसअघि आइतबार बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइभरी कोस्टलाई पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको हाे । त्यस्तै, शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सले स्विडेनलाई ५–१ गोललेपराजित गरेकाे थियाे ।
विश्वकप फुटबलमा आइतबार राति नेपाली समय अनुसार पौने १० बजे स्पेन र साउदी अरबबीच प्रतिस्पर्धा हुने भएकाे हाे। त्यस्तै, साेमबार बिहान पौने १ बजेदेखि बेल्जियमले इरानकाे सामना गर्ने भएकाे छ । साेमबार बिहान पौने ४ बजे उरुग्वे र केपभर्डेबीच पनि खेल हुने भएकाे छ ।
त्यसैगरी साेमबार बिहान पौने ७ बजेदेखि न्युजिल्यान्ड र इजिप्टबीच पनि खेल हुने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्