Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


रास्वपाको पहिलो महाधिवेशनमा कूल ४२ सय ११ प्रतिनिधि निर्धारण

प्रतिनिधिसभा निर्वाचनका पराजित उम्मेदवार पनि स्वतः प्रतिनिधि हुने

0
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आजदेखि शुरु पहिलो राष्ट्रिय महाधिवेशनमा कूल चार हजार २ सय ११ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

रास्वपा निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिमा सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उक्त संख्या निर्धारण गरिएको हो । जस अनुसार कोशी प्रदेशबाट ३ सय ६४, मधेसबाट ६ सय ३०, बागमतीबाट ७ सय ९४, लुम्बिनीबाट ६ सय २१, गण्डकीबाट ४ सय ५४, कर्णालीबाट ३ सय ४३ र सुदूरपश्चिमबाट ५ सय ५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका छन् ।

त्यस्तै, ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १ सय ३८ जना मनोनयन भइसकेका हुन् । समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १ सय ९२ जनालाई चयन गरिएको छ । त्यसैगरी, संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको हाे ।

गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ । प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्तिलाई पनि महाधिवेशन प्रतिनिधि हुने आयोगले जनाएकाे हाे ।

साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी हुने आयोगले जनाएकाे हाे ।