Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


उदयपुरमा स्कुल बस दुर्घटना : एक शिक्षकको मृत्यु, ३० जना घाइते


0
Shares

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगिटोलमा शनिबार बिहान शैक्षिक भ्रमणमा निस्किएको स्कुल बस दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कुलको बा २ ख ६४३८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा उदयपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मृतक दत्त विद्यालयका शिक्षक थिए।

दुर्घटनामा घाइते भएका ३० जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते रसिला कुमारी चौधरी (३८) र उनका छोरा सन्देश कुमार चौधरी (१२) लाई जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ। अन्य २८ घाइतेको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको छ। घाइतेहरू अधिकांश महोत्तरी र सिराहाका बासिन्दा रहेको अस्पतालले जनाएको छ।

बसमा सवार यात्रुहरूमध्ये महोत्तरीको औरही नगरपालिका निवासी रामतोला देवी मण्डल (२५) र प्रिति यादव (१४) सकुशल रहेका छन्। यस्तै बस चालक महोत्तरी गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले पनि सुरक्षित रहेका छन्।

प्रहरीले चालक आलेलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो। प्रारम्भिक जानकारीअनुसार बस शैक्षिक भ्रमणका लागि महोत्तरीबाट सुनसरीतर्फ जाँदै थियो।