Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


जीवजन्तुमा बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

चिडियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित

0
Shares

काठमाडाैं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीवजन्तुमा ‘बर्ड फ्लु’ सङ्क्रमण पुष्टि भएको छ ।

चिडियाखानाले शुक्रबार सूचना निकालेर जीवजन्तुमा बर्ड फ्लु देखिएको जनाएको हो । जीवजन्तुमा बर्ड फ्लु देखिएपछि अर्को सूचना नआउञ्जेलसम्मका लागि चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानामा दैनिक अवलोकन गर्नेको भीड लाग्ने गर्छ ।

सङ्क्रमण थप फैलिन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिडियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. चिरञ्जीवी पोखरेलले बताउनुभयाे । प्रवक्ता रचना साहले शुक्रबारदेखि लागू हुने गरी चिडियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको बताउनुभएकाे छ।

अन्य दिनका तुलनामा शनिबार रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन चिडियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको प्रवक्ता साहले बताएकाे हाे। चिडियाखानामा सबै भन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीवजस्तु पनि प्रभावित भएका छन् ।