भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघले ज्ञानेन्द्र मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संघको चौथो अधिवेशनबाट जिल्लाका सात वटा टोलको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।
संघको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मानन्धर समुदायको पुख्र्यौली व्यवसाय तोरीको तेल उत्पादनलाई संरक्षण तथा प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ। साथै घरेलु मदिरा उत्पादनलाई कानूनी रूपमा व्यवस्थित गर्ने र युवाहरूलाई लोकसेवा आयोगमार्फत सरकारी सेवामा आकर्षित गर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा समुदायको मौलिक सीप र प्रविधिमा आधारित घरेलु उद्योग पुनरुत्थान, उद्यमशीलता विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
संघले समुदायको नेतृत्व विकास, सामाजिक सशक्तीकरण तथा मूर्त–अमूर्त सम्पदा संरक्षणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुकेश रञ्जित, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, केन्द्रीय मानन्धर संघका पदाधिकारी तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।









प्रतिक्रिया दिनुहोस्