Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


विमान दुर्घटना : पाइलटसहित १२ जनाको मृत्यु


1k
Shares

एजेन्सी । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबै मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । मिसौरीको बट्स काउन्टीस्थित बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही बेरमै ‘प्यासिफिक एरोस्पेस ७५० एक्सएल’ विमान दुर्घटना भएकाे हाे ।

स्थानीय आपतकालीन व्यवस्थापन निकायका निर्देशक डेनिस ज्याकोब्सका अनुसार उडान भरेलगत्तै विमानमा प्राविधिक समस्या देखिएको बताएका छन् । पाइलटले विमानलाई नजिकैको राजमार्गमा सुरक्षित अवतरण गराउने प्रयास गरे पनि सफल हुन सकेनन्। केही क्षणपछि विमान अचानक ‘स्टाल’ भई जमिनमा बजारिएको र तत्काल आगलागी भएको जनाइएको छ।

दुर्घटनापछि अग्निनियन्त्रक तथा उद्धार टोली घटनास्थलमा पुगेका थिए। आगो नियन्त्रणमा लिइए पनि विमानमा रहेका कसैलाई पनि जीवित उद्धार गर्न सम्भव नभएको अधिकारीहरूले बताएका छन्।

घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रहेका केही स्काईडाइभरका आफन्तहरूले आफ्नै आँखाअगाडि विमान दुर्घटनाग्रस्त भएको देखेका थिए।

दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) र संघीय उड्डयन प्रशासन (FAA) ले घटनाको संयुक्त अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबी वा इन्जिनमा समस्या आएको हुन सक्ने आशंका गरिएको छ।