Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


न्यायाधीशसँग जोडिएको विवादबारे छलफल गर्न समिति बैठक बस्दै


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र विवादास्पद बिचौलिया इनम सापकोटाबीचको सम्बन्ध तथा सार्वजनिक भएका संवाद र कारोबारका विवरणबारे छलफल गर्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ।

समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ।

समिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंका अनुसार बैठकमा सर्वोच्च अदालतका न्यायाधीश र सापकोटाबीचको सम्बन्ध, सार्वजनिक भएका संवाद तथा कारोबारका विवरणमाथि छलफल हुनेछ।

उनले सार्वजनिक भएका विषयमा विस्तृत अध्ययन गरेपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए। तत्काल महाअभियोग सिफारिस समिति गठन गर्ने पक्षमा आफूहरू नरहेको उनको भनाइ छ।

सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीश र प्रहरीका उच्च अधिकारीसँग भएका संवाद तथा कारोबारका विवरण सार्वजनिक भएपछि न्यायालयको भूमिकामाथि प्रश्न उठेको छ। यसै विषयमा सात जना न्यायाधीशले सामूहिक भेट गरेको विवरणसमेत सार्वजनिक भएको छ।

सांसद चौलागाईंले अनुसन्धानको दायरामा रहेको विषयका विवरण कसरी सार्वजनिक भए भन्नेबारे पनि गम्भीर अध्ययन आवश्यक रहेको बताएका छन्।

Skip This