Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


गुण्डागर्दीको आरोपमा निर्वाचन कार्यालय झापाका दुई जना कर्मचारी पक्राउ


0
Shares

झापा । झापाको सदरमुकाम भद्रपुरस्थित एक होटलमा धारिलो हतियार कत्ती र खुकुरी देखाई आतंक मच्चाएको आरोपमा जिल्ला निर्वाचन कार्यालय झापामा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानका अनुसार गत जेठ २८ गते राति करिब ९ बजे भद्रपुर नगरपालिका–८ स्थित होटल उडल्याण्डमा केही व्यक्तिले कत्ती र खुकुरी देखाएर होहल्ला तथा गुण्डागर्दी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी पुगेको थाहा पाएपछि उनीहरू घरेलु हतियारसहित फरार भएका थिए ।

उनीहरु फरार भएलगत्तै प्रहरी निरीक्षक चौहानको नेतृत्वमा खोजतलास अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सोही क्रममा शनिवार दिउँसो करिब २ बजे भद्रपुर नगरपालिका–१० स्थित जिल्ला निर्वाचन कार्यालय अगाडिबाट घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक चौहानले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१० निवासी ३६ वर्षीय कविराज गुरागाईं र बिर्तामोड नगरपालिका–७ निवासी ३० वर्षीय पराजय चौधरी रहेका छन् । उनीहरू दुवै जना जिल्ला निर्वाचन कार्यालय झापामा कार्यरत कर्मचारी रहेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट एक थान खुकुरी र एक थान चक्कु बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक चौहानले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।