Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


सरकारसँग १ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात छः कृषिमन्त्री चौधरी


52
Shares

काठमाडाैं ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गिता चौधरीले यस्तो दाबी गर्नुभएको हो । उहाँकाअनुसार ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकेकिएको छ ।

उहाँले गोदाममा रहेको र भित्रिएर प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको बताउनु भयो । मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिव ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै यो हालसम्मकै सबैभन्दा ठूलो आपूर्ति परिमाण भएको दाबी गर्नुभयो ।

उहाँले आगामी धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो । यसको फलस्वरुप असारदेखि साउनसम्म करिव ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई विक्री वितरण गरिसकिएको छ । गोदाममा रहेको र नेपाल भित्रिएर र गोदाममा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्मको अवधीमा कुल ६ लाख मेट्रिक टनको हारहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने जानकारी गराउँदछु, जुन अहिलेसम्मकै धेरै परिणाम हो ।

नजिकै आइसकेको धानको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयले विभिन्न प्रयास र तयारीहरु गरिरहेको छ । यस क्रममा मल आपूर्तिको सम्झौता गरिसकेका मल आपूर्तिकर्ताहरुलाई समयमै मल आपूर्ति गर्न ताकेता गरिसकेको पनि जानकारी गराउन चाहन्छु । जसको परिणाम स्वरुप असारदेखि साउनसम्म करिब ९० महजार मेट्रिक टन मल नेपाल भित्रिने अपेक्षा गरेको जानकारी गराउन चाहन्छु ।’

मलको समान वितरणको लागि एकद्धार प्रणाली लागू गरिएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले मलसम्बन्धी सूचना हेर्न मिल्नेगरी मल व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइएको समेत बताउनुभयाे ।